गुणस्तरिय तथा सुपथ मूल्यमा :  ग्याँस गिजर, वाटर फिल्टर,चिम्नि ,रेगुलेटर र पाईप, सोलारवाटर हिटर, इन्भटर, ब्याट्री, होम/स्ट्रीट सोलार लाईट, पानी तान्ने पम्प, फाएर ईक्सटीङग्युजर ,एयर कन्डीशनर आदी | सम्पर्क : एपी ट्रेडर्स , ९८५१०७३५४५

विज्ञापनको बल मिच्याइँ.

                                                                           
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने नेपाली उखान अलि पुरानै हुनुपर्छ । यो उखान अहिले पनि चलिरहेको छ । उसैपनि नेपाली समाजमा चामललाई अली अब्बल खाद्यान्न मानिन्छ र पिठोलाई दोयम दर्जामा राखिन्छ । बोल्नेको पिठो बिक्छले विज्ञापनको छनक दिन्छ । आधुनिक बजारशास्त्रको भनाई लिने हो भने बोल्नु वा बोल्न जान्नु बजार प्रवद्र्धनको शैली हो । सीप हो । अझ तरक्की भन्दा पनि हुन्छ । नबोल्नु, चुपचाप बस्नु बजार प्रवद्र्धन गर्न नजान्नु हो । अरूलाई प्रभाव पार्ने सीप नहुनु हो । यो उखानले नेपाली समाजमा विज्ञापनको प्रयोजन जानी नजानी धेरै लामो समयदेखि कायम थियो भन्ने देखिन्छ ।
भनिन्छ, विज्ञापन मानिसद्वारा मानिसका लागि गरिने व्यापार हो ।  कुनै चिज–वस्तुको मूल्य र मात्रा व्यापक बनाउन विज्ञापन गरिन्छ । विज्ञापन सूचना पनि हो । विज्ञापनका माध्यमबाट सम्प्रेषण गरिएका सन्देशहरू अरूको ध्यानाकर्षण गर्नका लागि हुन्छन् । ध्यानाकर्षण गराउन अनेक सन्दर्भ र शैलीको  प्रयोग हुन्छ । ध्यानाकर्षण गराउन मात्र होइन, रुचि जगाउन पनि विज्ञापन प्रयोग हुन्छ । विशेष भाषा, शब्दावली, सङ्गीत, मनमोहक दृष्य, प्रेम, यौन इत्यादिको भाव देखाएर रुचि जगाउने र त्यसले वस्तु र सेवाको बजारीकरण गरिनु विज्ञापन हो ।
विज्ञापनले मानिसहरूमा वस्तु तथा सेवाप्रति ध्यानाकर्षण गर्ने र रुचि जगाउने मात्र होइन, आकाङ्क्षा पनि थपिदिन्छ । मानिसको वस्तु वा सेवा प्रति अनेक र फरक फरक चाहना हुन्छन् । तर सबै चाहना अर्थशास्त्रीय भाषामा आवश्कता हुँदैनन् । चाहनालाई पूरा गर्ने साधन र स्रोत छ भने त्यतिखेर  चाहना आवश्यकता हुँदै मागसम्म पुग्छ । माग हुन साधन र स्रोतसँगै तत्परता पनि चाहिन्छ । विज्ञापनले मानिसको मनमा आकाङ्क्षा खडा गरिदिन्छ । आवश्यकताको कुतकुती लगाइदिन्छ । तत्परताको हुटहुटी खडा गरिदिन्छ । आकाङ्क्षा पूरा गर्न मानिसले साधन र स्रोतको जोहो गर्न थाल्छ । त्यो क्रम कार्यरूपमा परिणत हुन थालेपछि वस्तु वा सेवा सुक्रीविक्री हुन्छ । त्यतिखेर विज्ञापनको लक्ष्यभेदन हुने भो । साधन खर्चेर खरिद गरेको वस्तु वा सेवाको गुणसँग उपभोक्ता सन्तुष्ट भयो भने त उपभोक्ता पनि मख्ख र पैसा खर्च गरेर विज्ञापन गर्ने पनि मालवस्तुले बजार पाउँदा दङ्ग हुने नै भयो । 
विज्ञापन मूल्य तिरिएको सूचना हो । सञ्चार हो । वस्तु वा सेवाको चिनारी विस्तार गर्न र गुणको व्यापकता विस्तार गर्न विज्ञापन प्रयोग हुन्छ । वस्तु वा सेवा खरिद गराउने यसको मूल ध्येय हो । विज्ञापनमा सञ्चारका माध्यमहरूको प्रयोग गरिन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन जस्ता आमसञ्चारका साधनको प्रयोग गरिन्छ । पत्रपत्रिकामा समाचारसँगै पाठकलाई ध्यानाकर्षण गर्न विज्ञापन राखिन्छ । रेडियोले समाचार, शिक्षा, मनोरञ्जनसँगै विज्ञापन सुनाउँछ । टेलिभिजनले सुनाउँछ र देखाउँछ पनि । अनलाइनमा देख्न, पढ्न, सुन्न पाइन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजनका आफ्नै विशेषता छन् । तर अध्ययनहरूले टेलिभिजनलाई सबैभन्दा बढी प्रभावकारी ठान्छ । त्यसपछि रेडियो र अनि मात्र पत्रपत्रिकाको स्थान आउँछ ।
आमसञ्चारका यी माध्यमसँगै विज्ञापनका अरू पनि माध्यम छन् । पोष्टर, पम्लेट, होडिङबोर्ड, विद्युतीय सङ्केत वा भिडियो डिस्प्ले जस्ता माध्यमबाट पनि विज्ञापन गरिन्छ । यसरी विज्ञापन गर्नुलाई बाह्य (आउटडोर) माध्यम भनिन्छ । वस्तु वा सेवाको प्रचार गर्न सबैले देख्ने ठाउँमा बाह्य विज्ञापनका माध्यमहरू प्रयोग हुन्छ । पोष्टर देख्ने ठाउँमा टाँसिन्छ । मानिसहरूलाई पम्लेट बाँडिन्छ । होडिङबोर्ड मानिसले देखूँन् भनेर उपयुक्त स्थानमा टाँगिन्छ । विद्युतीय सङ्केत पनि भीडभाडमै राखिन्छ । काठमाडौंको विशालबजारमा यसप्रकारका विज्ञापन सामाग्री देख्न सकिन्छ । यो सानो उदाहरणमात्र हो ।
विज्ञापनका लागि खर्च गर्नुपर्छ । बिना खर्च विज्ञापन हुँदैन । यो मूल्य तिरिएको सञ्चार हो । यो निःशुल्क हुँदैन । तथापि, सामाजिक भलाईका लागि गरिने कतिपय विज्ञापन निःशुल्क पनि हुन्छन् । तर त्यसका लागि पनि मूल्य हुन्छ । विज्ञापनका लागि समय वा स्थान चाहिन्छ । पत्रपत्रिकामा विज्ञापनका लागि स्थान चाहिन्छ । रेडियो वा टिभीमा समय । विज्ञापनका लागि शब्द, सङ्केत, समय, दृष्य इत्यादि प्रयोग हुन्छ । यो सिर्जनात्मक सञ्चार हो । वस्तु वा सेवाका लागि अरूलाई प्रभाव पार्नु सजिलो काम होइन । सिर्जना र दक्षता यसमा जरुरी हुन्छ ।
विज्ञापनले नयाँ वस्तु वा सेवा उपभोक्तामाझ चिनाउँछ । ब्रान्डको संरक्षण गर्छ । उपभोक्तालाई अभिप्रेरित गर्छ । उत्पादनको प्रतिष्ठा बढाउँछ । ग्राहकमा शिक्षा र चेतना विस्तार गर्छ । बजार प्रवद्र्धन गर्छ । व्यापारीलाई मुनाफा दिन्छ । यी सबै काम सुनियोजित तौरतरिकाले गर्छ । यो निरुद्देश्य त अवश्य हुन्न तर नित्तान्त झुठो पनि हुन्न । बरु उपेभाक्ता र उत्पादनबीचको अन्तरसम्बधको विशेष कडी हो विज्ञापन । अर्थतन्त्रलाई आधुनिकतातिर लैजाने बाटो पनि हो यो ।
वास्तवमा विज्ञापनको आफ्नै शास्त्र छ र छ सिद्धान्त पनि । विज्ञापन बजार प्रवद्र्धनका पारखशास्त्र हो । यसका पनि मूल्य र सिद्धान्त छन् । झुठा कुरा विज्ञापन हुन सक्दैन । झुठा कुरा विज्ञापन होइन, ठगी हो । विज्ञापनको समकालीन नेपाली बजारमा कसरी प्रयोग भइरहेको छ ? अलिकति त्यतातिर हे¥यो भने वैराग लाग्छ । नेपाली बजारमा भने विज्ञापन र ठगी एउटै सिक्काका दुई पाटा हुन कि जस्तो लाग्छ । अहिलेको नेपाली बजारका कतिपय पाटा पिठो बिकाउन होइन, माटोलाई पिठो भनेर बिकाउने यत्न जस्तो देखिन्छ । अनेक ठूल्ठूला कलाकार र नायकहरू आफ्नो सामाजिक ओहोदा र मूल्य विचारै नगरी विज्ञापनमा खेल्छन् । कमसल वस्तुमा गुणस्तर भएको ढोङ्ग पिट्छन्, मात्र अलिकति पैसाका लागि ।
रियल जुसका बारेमा यो एकडेढ वर्षमा धेरै खालका समस्या आए ।  विकृति सार्वजनिक भए । जनस्वाथ्यमा प्रश्न उठ्यो । सरकारी निकायले पनि त्यसमा प्रत्यक्ष प्रमाण पायो । मिति राख्ने कुरामा गलत भएको डाबरले स्वीकार पनि ग¥यो । तर सुधारका लागि ठिक बाटो रोजिएन । त्यसको निरुपण गर्ने स्वतन्त्र छानबिनको आवश्यकता डाबरले देखेन । बरु कुनै नायकको सामाजिक उचाइँलाई खरिद गरेर विज्ञापन गर्नु उचित ठान्यो । नायक पनि खुसी भए क्यारे । गलत चिजलाई सही देखाउन खोज्नु विज्ञापनको ध्येय होइन ।
 सही चिजलाई अरु सही देखाउनु विज्ञापनको उद्देश्य हो । यो कुरा बुझ्ने चेष्टा नेपाली बजारले गरेको छैन ।
कुनै नायकको फलामे डन्डीसँग के साइनो हुन्छ ? अनि यौनलाई विज्ञापनमा बेच्न खोज्नु र त्यसमा पनि ठाउँ कुठाउँ युवतीको प्रयोग गर्नु  विज्ञापनको सही प्रयोजन होइन ।  अनैतिक, अमर्यादित र  अस्वस्थ्य प्रतिस्पर्धालाई बढवा दिनु पनि विज्ञापन होइन । त्यो विकृति हो । ठगी  हो । यस्तो अनेक उदाहरण देख्न सकिन्छ । विज्ञापन सामाजिक मर्यादा अनुकूल हुनुपर्छ ।  विज्ञापनले गुणको बयान गर्नुपर्छ । गलत कुरालाई प्रश्रय दिनु विज्ञापन होइन, बरु अपराध हो । उपभोक्ताको हित विपरीत गरिने विज्ञापन विज्ञापन होइन, ठगी हो । कमजोर राज्यमा मात्र यस्तो सम्भव हुन्छ । 
नेपाली बजारमा विज्ञापनको अराजक प्रयोग देखिन्छ । वस्तुको विज्ञापन, उपहार, चिठ्ठाका वान्छित ध्येय बजार प्रवद्र्धन होइन, उपभोक्ता ठग्ने प्रपञ्च भएका विविध उदाहरण देख्न सकिन्छ  । एउटा उत्पादनले चिठ्ठा र उपहारका नाममा कार दिने भनेर पछि खेलौना कार दियो । त्यो विषय अहिले पनि राज्यका निकायमा विचाराधीन अवस्थामा छ ।
 नेपाली बजारमा प्रायजसो विज्ञापनलाई भद्दारूपमा प्रयोग गरेको पाइन्छ । उपभोक्ताको हित हेर्ने निकायहरू निरीह जस्तै छन । उपभोक्ताको हितप्रवद्र्धनको कोणबाट विज्ञापन गरेको पाइन्न ।  साच्चै भन्नुपर्दा वस्तु वा सेवाको गुणको बेलीविस्तारभन्दा अनावश्यक बडाइँचडाइँ र प्रोपोगन्डा नेपाली विज्ञापनको विशेषता हो । पाडो किन्दा भैंसी उपहार जस्तो फाल्तु कुरा विज्ञापनमा दिएर उपभोक्तालाई बेअकूफ बनाउने शैली नेपाली विज्ञापनको विशेषता जस्तै बनेको छ । 
गुणस्तरहीन वस्तु वा सेवाको प्रचारप्रसार गरी विज्ञापन गर्नु यथार्थमा विज्ञापन होइन । बरु, त्यस्तो कार्य त सरासर ठगी अनि अवराध पनि हो । वस्तु वा सेवाको प्रचार गर्ने भन्दैमा विज्ञापनले गलत कुराको आड भरोसा लिँदा त्यस्ता वस्तु वा सेवाबाट क्षणिक विक्री लाभ त लिन सकिएला तर त्यसले दिगो र स्थायित्व प्राप्त गर्न सक्दैन । अर्थतन्त्र पनि उँभो लाग्दैन ।
वस्तु वा सेवाको विज्ञापन गर्ने नाउँमा समाज र राष्ट्रको अहित  पनि गर्नुहुन्न । राष्ट्रिय अर्थतन्त्रको अहित अनि भाषा र संस्कृतिमाथि अतिक्रमण गर्ने खालको विज्ञापनलाई प्रोत्साहन दिनु पनि गलत हो । विदेशी वस्तु वा सेवाको उनीहरूका भाषा र ढर्रामा विदेशी च्यानलसँगै भित्रिएका विज्ञापन सामग्रीले राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावका कुनै अध्ययन नेपालले गर्न सकेको छैन । विदेशी विज्ञापन डबिङ्ग गरेर प्रचलनमा ल्याइन्छ , त्यो पनि ठिक होइन । विज्ञापन त मौलिक र सिर्जनात्मक कार्य हो । विज्ञापनले नेपाली सीप, सिर्जना, आय र रोजगारीको बाटो खोल्नु पर्छ । अहिलेको विज्ञापन ढाँचा र ढर्राले त नेपाली समाजलाई नाङ्गो उपभोक्तावादतर्फ उन्मुख गर्दैछ । विप्रेणका रूपमा बाहिरबाट आएको स्रोत पुनः विदेशै पुग्ने जस्तो चक्रलाई अहिलेको विज्ञापनवादले सहयोग गरिरहेको छ । यो किमार्थ राष्ट्रिय अर्थतन्त्रका लागि सुखद् पक्ष होइन ।
नेपाली समाजमा प्रतिकूल असर पर्ने कुनै पनि विज्ञापन सामाग्रीको ठूलो मूल्य समाजले चुकाउनुपर्छ । हाम्रा बजारमा चाउचाउको जसरी विज्ञापन गरिएको छ, त्यसले विकराल समस्या निम्त्यिाउने खतरा बढ्दो छ । चाउचाउ जङ्क खानेकुराका रूपमा चिनिन्छ र त्यसले जनस्वास्थ्यमा अनेक समस्या ल्याउने र खासगरी बालबालिकाको स्वास्थ्यमा हानि गर्ने कुराहरू बाहिर आइरहेका छन् । कतिपय विद्यालयहरूले चाउचाउ लगायतका जङ्क खानेकुरालाई विद्यालय परिसरमा खानमात्र होइन, ल्याउनसम्म पनि प्रतिबन्ध लगाएका छन् । तर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने अनेक वस्तु तथा सेवाहरू खुलेआम विज्ञापन सामाग्रीका रूपमा प्रचारप्रसार गरेर नेपाली विज्ञापन बजारमा अनेक भत्ता स्वरुप देख्न सकिन्छ ।
विज्ञापन खुला र बजार अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने प्रभावकारी हतियार हो । कुनै पनि हतियारको सही प्रयोगले मात्र त्यसको सार्थकता प्रमाण्ति हुन्छ । हतियारको गलत प्रयोगले हानि सिबाय केही हुन्न । विज्ञापन मानिसका लागि वस्तु वा सेवाको बजार विस्तार गर्न उपयोग गर्ने विज्ञान हो । तर यो विज्ञानलाई अपज्ञानका रूपमा प्रयोग भइरहँदा पनि त्यसको लेखाजोखा  गर्ने प्रवृत्ति नेपाली समाजमा देखिएको छैन । चिन्तन र सार्थक बहस सुरु भएको छैन । राज्यका निकायसँग अनुगमन गर्ने संयन्त्र छैन । व्यवसायिक तवरमा आचारसँहिताका निर्माण र कार्यान्वयनको अभाव छ । 
नेपाली समाजमा बोल्नेको पिठा बिक्छ र नबोल्नेका चामल पनि बिक्दैन मात्र भनिन्न, अकबरी सुनलाई कसी लगाउनुपर्दैन भन्ने पनि चलन छ । असल चिज आफै विज्ञापन हो । असल चिजको विज्ञापन नै जरुरी पर्दैन । वस्तू वा सेवा सरह शिक्षा र स्वास्थ्यको पनि विज्ञापन गर्ने प्रचलन चल्दो छ । च्याउ सरी खुलेका देशको कैयौं शैक्षिक संस्थाहरूले विज्ञापनमा ठूलो खर्च गर्छन । त्यसको अनुगमन कही छैन । विज्ञापन गर्ने त्यो पैसा अभिभावककै श्रम र पसिनाबाट जाने हो । तर त्यही स्थानमा बूढानीलकण्ठ स्कूल, सेन्ट जेभियर्स र सेन्टमेरिजले कहिल्यै भर्नाको अति सामान्य सूचना बाहेक विज्ञापन गरेको पाइन्न । तर त्यहाँ भर्ना हुन चाहनेहरू ठूलो भीड लाग्छ । अति सीमितले मात्र स्थान पाउँछन् । 
शिक्षामात्र होइन, अस्पताल, डाक्टरको क्लिनिक, औषधिको पनि विज्ञापन गर्ने गलत परम्परा नेपाली समाजमा शुरु हुँदैछ । विज्ञापन मानिसका निम्ति गरिने सूचनाको व्यापार त हो तर त्यो मानिसको हित विपरीत हुन सक्दैन । विज्ञापन गतिलो र अपारदर्शी अनि व्यक्तिको सर्वोपरि हितविरुद्ध पनि  हुन सक्दैन । देशको कानुन, आचार, सामाजिक मूल्य र संस्कारविरुद्ध हुन सक्दैन । विज्ञापन मूल्य व्यहोरिएको सूचना सामग्री अवश्य हो तर यो ठगी होइन । व्यक्तिको हितविरुद्ध पनि होइन । गतल विज्ञापनविरुद्ध समाजलाई उठाउनु शायद समयको माग हो कि ?
                                                                                                                        
                                                                                                                             जुनारबाबु बस्नेत
सभार : जीवन मासिक पत्रिका
बर्ष १३, अंक २६, २०६९ बैशाख